04/10/2025
पानी पर्दा बाढी आउन सक्ने सम्भावना भएको ठाउँमा पूर्व तयारी (Preparedness)
१. व्यक्तिगत तथा पारिवारिक तयारी
- घरका सबै सदस्यलाई आपत्कालीन योजना बारे जानकारी दिनुहोला (कहाँ जाने, कसरी सम्पर्क गर्ने)।
- आपतकालीन झोला (Go Bag) तयार राख्नु जसमा यी सामानहरू राख्नुपर्छ: पिउने पानी र सुख्खा खाना (कम्तीमा ३ दिनका लागि), टर्च, ब्याट्री, मोबाइल चार्जर, सानो रेडियो, प्राथमिक उपचार सामग्री (First aid kit),आवश्यक औषधि, मास्क, सेनिटरी प्याड, महत्त्वपूर्ण कागजात (नागरिकता, लालपुर्जा, प्रमाणपत्रहरू) प्लास्टिकमा राख्नुहोला, लुगा, कम्बल र जुत्ता .
२. घर र सम्पत्तिको सुरक्षा
- छत, छानो, नाली र ढल सफा राख्नुहोला ताकि पानी जम्न नपाओस्।
- घरको वरिपरिको ढुंगा, बालुवा, झाडपात, प्लास्टिक हटाउनुहोला ताकि पानीको बहाव नरोकियोस।
- विद्युत् उपकरणहरू माथिल्लो ठाउँमा राख्नुहोला।
- यदि घर नदी किनारमा छ भने, अस्थायी तटबन्ध (sandbags) राख्न सकिन्छ।
३. समुदाय स्तरमा तयारी
- गाउँ/टोलमा बाढी सूचना दिने प्रणाली (जस्तै सायरन, मोबाइल समूह सन्देश) बनाउन सकिन्छ।
- सुरक्षित स्थान (Evacuation point) पहिचान गर्न र अभ्यास (Mock drill) गर्न।
- स्थानीय सरकार वा वडाको आपतकालीन सम्पर्क नम्बर सबैलाई थाहा हुनुपर्छ र उपलब्ध गराउनु पर्छ।
- बाढी आउँदा बुजुर्ग, बालबालिका र अपाङ्ग व्यक्तिलाई प्राथमिकता दिने योजना बनाउन।
४. चेतावनी र सूचना प्रणाली
- मौसम विभाग वा स्थानीय पालिकाबाट आउने बाढी सम्बन्धी चेतावनीहरू ध्यानपूर्वक सुन्ने।
- मोबाइल, रेडियो, टेलिभिजन वा सामुदायिक सूचना केन्द्र मार्फत नियमित अपडेट लिनुहोस्।
५. पशुपालन र खेतीपातीको तयारी
- पशुहरूलाई उचाइमा रहेको गोठ वा सुरक्षित ठाउँमा सार्ने।
- धान, गहुँ, दाल आदि बाली यदि काट्ने अवस्थामा छन् भने छिटो भित्र्याउने।
- बीउ र मलखाद सुरक्षित ठाउँमा राख्ने।